हेलिकप्टरमा पैसा नअटाएपछि विमानस्थलमै केही रकम छोडेर अशरफ गानी भागेकाे दाबी

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ भदौ । पश्चिमको कठपुतली बनेर अफगानिस्तानमा सरकार चलाएका अशरफ गानीले हेलिकप्टरमा टन्न पैसा भरेर लगेको अनि नअटेको पैसा विमानस्थलमै छोडेको काबुलस्थित रुसी दूतावासले जानकारी दिएको छ ।

रुसी समाचार संस्था आरआईए नोभोस्तीसँग कुरा गर्दै दूतावासका प्रवक्ता निकिता इशचेन्कोले गानीको पलायन पश्चिमको कठपुतली सत्ताको पतनको सही प्रतीक भएको बताए ।

‘चारवटा कारमा टन्न पैसा भरिएको थियो । उनीहरूले सबै नगद हेलिकप्टरमा भर्न खोजेका थिए तर अटेन । केही पैसा विमानस्थलकै भवनमा छोड्नुपरेको थियो,’ उनले बताए ।

आफूले यो सूचना कहाँबाट पाएको भनी उनले खुलाएनन् । गानी सन् २०१४ को सेप्टेम्बर महिनामा अफगानिस्तानको राष्ट्रपति बनेका थिए । देशको इतिहासमा पहिलोपटक लोकतान्त्रिक रूपमा सत्ता हस्तान्तरण भएको हो ।

निर्वाचित भएदेखि गानीले अमेरिकासँग निकट सम्बन्ध कायम गर्दै आएका छन् । सन् २०१९ मा अमेरिकाको ब्राउन विश्वविद्यालयले गरेको अध्ययनमा सन् २००१ देखि २०२० सम्ममा वाशिङटनले अफगानिस्तान र पाकिस्तानमा ९८७ अर्ब डलर खर्च गरेको छ ।एजेन्सी