अलैंची मासिन थालेपछि किसान चिन्तित

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



मङ्गलबारे, १ भदौ । नगदेबाली अलैंची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।

मकैबारी नै मासेर अलैंची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैंची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैंची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उनी भन्छिन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।

२ वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रममार्फत देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिने क्रममा छ । सन्दकपुर गाउँपालिकामा भने अलैंची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन ३० हजारभन्दा माथि पुगेको छ । अन्य बाली लगाउनुपर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी संघका देउकुमार राना बताउँछन् ।

गत वर्ष जिल्लामा ५ सय ७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष उत्पादन र क्षेत्रफल घटेर १ हजार ६ सय हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची भारतलगायत मुलुकमा निर्यात हुँदै आएको छ ।