भीषण वर्षाले परासी बजार डुबानमा

-



     सफल आवाज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित



परासी, ११ भदौ । गएरातिकाे भीषण वर्षाले पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार डुबेको छ । परासी सबै बजार जलमग्न भएको छ । बजारका २०० बढी घरहरू डुबानमा परेका छन् ।

धेरै घरहरू आधाभन्दा बढी डुबेका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा पानी ‘ओभर फ्लो’ हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

डुबानले परासी बजारका रामग्राम नगरपालिका–१ को सहुवाटिकर, वडा नम्बर २ को मस्जिद टोल, हाटबजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र ६ को पोखरापाली टोल पूरै डुबेको छ । प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बजारसहित सरकारी कार्यालयहरू पनि धेरै डुबानमा परेको बताए ।

राहत तथा उद्धारमा सेना र प्रहरी खटिएको उनले बताए । सबै क्षेत्र डुबान परेकाले बाढी र डुबानमा फसेकालाई उद्धार गर्न समस्या भएको छ।