म्याग्दी, २५ भदौ । बेनी बजारमा एक महिनाअघि सुरु भएको बर्खेनाचको समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको साउन महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तीज पर्वका दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दिरमा धार्मिक विधिअनुसार कृष्णद्वारा घण्टाकर्ण नामको राक्षसको प्रतीकको बध गरी समापन गरिएको हो ।
‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखि नै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । परापूर्वकालमा समाजलाई दुःख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयवासीले बध गरेपछि साक्षसकी पत्नीले पतिवियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मकरूपमा प्रस्तुत गरिन्छ ।
बर्खेनाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागिनी, रोपाइँ र जोगीनाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सीमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । “घण्टाकर्णको प्रतीक सेलाउने, गाईजात्राका दिन दिवङ्गतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दिरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो”, उनले भने, “विभिन्न नृत्यसहित बजार परिक्रमा गरिएन, परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सीमित बनायाैं ।”
बेनीमा बसोबास सुरु भएदेखि नै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताए । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



