लगातार संसद अवरूद्ध भएपछि सभामुखले बाेलाए आज सर्वदलीय बैठक

-



     सफल आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसाे २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका छन् । छलफलले कुनै निष्कर्ष निकाल्न सकेन

संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित गरिएकाे छ । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।