ढोरपाटनमा पहिरोमा बेपत्ता १३ को पहिचान खुल्यो,८ वटा शव भेटिए

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



बागलुङ, १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिकामा हिजो खसेको पहिरोमा बेपत्ता १७ जनामा १३ को पहिचान खुलेको प्रहरीले बताएको छ । मृत्यु भएकाहरुको संख्या ८ पुगेको छ । शवको सनाखत भएको छैन ।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा परेर १३ जना बेपत्ता भएका छन् । १३ घर बगाएको छ । घटनास्थलमा ८ जनाको शव फेला पारिएको छ । उनिहरुको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । अरिवरल वर्षासँगै मध्य रातमा आएको बाढी बस्तीमा पसेर घर बगाएको घटनास्थल जानु भएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताएका छन् ।

ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका विभिन्न स्थानमा खसेको पहिरोमा परेर १७ जना बेपत्ता भएका थिए । उनिहरुमा ढोरपाटन ९ की कौशल्या पुन, ६ वर्र्षीय छोरा हिक्मत पुन, जीतबहादुर घर्ती, राजु घर्ती, कुमारी बिक, पुतली बिक, करमती घर्तीमगर रहेका छन् ।

यस्तै, रीना घर्तीमगर, दिलमाया घर्तीमगर, ६ वर्षीय बालक, डोटी पुन, टुलमती पुन, गलकोट नगरपालिका ४ का ढोरपाटन घुम्न गएका नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताएका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेकको छ । उक्त स्थानमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारको लागि गएका छन् । पहिरोमा बेपत्ता भएकाहरुको जोजि भईरहेको प्रहरीले जानकारी दिएको छ ।तस्विर :द्रोण कुमार कुँवर -एफबि