सरकार गठन भएकाे करिब ३ महिनामा गरे देउवाले मन्त्रिपरिषद् बिस्तार(सूचीसहित)

-



     सफल आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार गठन भएको करिब ३ महिनामा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ औं दिनमा देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन । उनले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

मन्त्रिपरिषदमा यसपटक उपप्रधानमन्त्री बनाईएको छैन । यो व्यवस्था नबनाईए पछि जनता समाजवादीका उपेन्द्र यादव सरकारमा सहभागि भएका छैनन् ।

वरियताको हिसाबले प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाणको नाम रहेको छ । ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ । त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात रहेका छन् ।

प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण बनेका छन् ।

कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि नियुक्त भएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।मन्त्रीहरूकाे आजै बेलुका सपथ खुवाईने भएको छ ।