
पोखरा, १८ भदौ । बागलुङको ढोरपाटनस्थित भुजीखोलामा गएको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । अझै ३९ जना बेपत्ता छन् । मृत्यु हुनेमध्ये २ जनाको मात्र सनाखत भएको छ ।
जसमा ढोरपाटन ९, भट्टचौरकी २६ वर्षीया केशमाया बिक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर बिकको पहिचान भएको छ । यस्तै ५ जना पुरुष र ७ महिलाको सनाखत हुन बाँकी छ ।
बेपत्ता हुनेहरुमा ढोरपाटन–९ बस्ने २० वर्षीय जीवन बिक, सोही ठाउँका ३४ वर्षीय नारायण बिक, २० वर्षीया टेकमाया बिक, उनकी १ वर्षीया छोरी, १५ वर्षीया मनिषा बिक, घट्टेचौरका २८ वर्षीय शनि बकि, उनको छोराहरु ५ वर्षीय रवि र १० वर्षीय रोशन, १५ दिनको बच्चा, २६ वर्षीया मनकुमारी बिक, २९ वर्षीय प्रेम पुन, भुसुण्डेकी ३० वर्षीया कुमारी बिक, १४ वर्षीय समुन्द्र बिक, १० वर्षीया पुनम बिक, ३० वर्षीय जितबहादुर घर्ती, ४३ वर्षीय राजु घर्ती, घट्टेबोटकी ३५ वर्षीया करमति बुढा, ३५ वर्षीया रीनाकुमारी घर्ती, २० वर्षीया दिलमाया पुन, उनकी ३ वर्षीया छोरी प्रकृति, ६० वर्षीया डोटी पुन बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
यस्तै सानो कुगुका ३५ वर्षीय हेमबहादुर बिक, उनकी श्रमिती ३४ वर्षीया उजेली बिक, छोरा ८ वर्षीय दलु, १० महिनाको छोरा, ४० वर्षीय करबहादुर बिक, निजकी श्रीमती ३७ वर्षीया हस्तमाया बिक, दुनेपधेँराकी ६० वर्षीया तुलमति घर्ती, लाकुरीबोटकी ५५ वर्षीया कौशिला पुन, उनको छोरा २० वर्षीय विशाल, पावरहाउसकी २५ वर्षीया धनमाया बिक, उनको २ वर्षीय छोरा, सुप्राङका वीरे बिकको श्रीमती र २ छोराछोरीसहित ४ जनाको परिवार, गलकोट ४ घर भई ढोरपाटन घुम्न आएका २५ वर्षीय नवीन भण्डारी र ढोरपाटन ९ सुप्राङका नाम नखुलेका अन्य ३ जना पनि बेपत्ता भएका छन् । बाढीपहिरोमा परी ढोरपाटन–४, दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीय धमेन्द्र पुन र ५४ वर्षीया बेलमति पुन घाइते छन् । तीमध्ये महेन्द्र पुनको अवस्था गम्भीर छ ।
घटनास्थलको अवलोकन गरी फर्केका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्थानीयको भनाइ उद्घृत गर्दै भने यति ठूलो बाढीपहिरो जीवनमै आफूहरुले पहिलो पटक देखेको बताएका छन् । उद्धारका लागि बुर्तिबाङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको छ ।
गएराति करिब १ बजेको समयमा अविरल वर्षापछि ढोरपाटन ९, भुसुण्डे, दुनेपोखरा, लाँकुरीबोटमा बाढीपहिरो गएको हो । बाढीपहिरोले ढोरपाटन ९, सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ घर पूर्णरुपमा बगाएको छ । यस्तै २ वटा मोटरसाइकल बगाएको छ । भुकुण्डेमा पार्किङ गरिराखेको ग१ज ४१२५ नम्बरको पिकअप जिप समेत बगाएको छ ।
सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीन वटा जलविद्युत् आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ । बाढीपहिरोमा ढोरपाटनका वडा ६, ७ , ८ र ९ मा क्षति पुगेकोमा सबैभन्दा बढी ८ र ९ मा पुगेको हो । घटनास्थल पुग्न जिल्ला सदरमुकाम बागलुङबाट ७/८ घण्टा लाग्छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



