धरानमा भयाे ७ करोड बराबरकाे खसी बोकाको कारोबार

-



     सफल आवाज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित



धरान, १ कात्तिक । धरानमा दसैंमा ७ करोडको खसीबोकाको कारोबार भएकाे छ । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा ७ करोड बराबरको खसीबोका कारोबार भएको हाे । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो ।

असोजभरि सात हजार र दसैंमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसैं अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दसैंको मुखमा रु पाँच करोडको कारोबार भएको छ ।

धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ ।

किसानले बिहीबार नै खसीबोका ल्याउँछन् । शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । “पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्”, व्यवस्थापक भट्टराईले भने।