बाढीपहिराे पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित



महेन्द्रनगर, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिराे पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताए।

“सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बाढीपहिराले ठूलो क्षति पुरयाएको छ”, प्रधानमन्त्री देउवाले भने, “सिमित स्रोतसाधनका बाबजुत पनि पीडितलाई राहत दिन्छौँ।” मन्त्रिपरिषद्को निर्णयबाट केही दिनअघि राहत व्यवस्था गरिएको उल्लेख गर्दै उनले बाढीका कारण पूर्वाञ्चल लगायत देशभरका विभिन्न स्थानमा क्षति पुगेको बताए ।

प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चागर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताए । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ ।

सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न गएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरे। उनले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।