प्रधानन्यायाधिश राणालाई राजिनामा दिन बारले दियो अल्टिमेटम

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजिनामा माग गरेको छ । यो मागसंगै बारको आज बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बारले प्रधानन्यायाधिश समक्ष कुनै फैसला, निर्णय तथा आदेश नगर्न माग गरेको छ । बारको बैठकले कात्तिकको १४, १५, १६ र १७ गतेसम्म हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बार बैठकले देशका ९० वटै इकाईसंग छलफल गर्ने र केन्द्रीय बारले गरेका निर्णयहरु सबै इकाईका लागि परिपत्र गर्ने निर्णय गरेको छ ।यसकासाथै कात्तिक १६ गते धर्ना दिने भनिएको छ ।

नेपाल बार एसोसिएसनले बारको यो चरणको चारदिने आन्दोलन हुँदासम्म प्रधानन्यायाधिश राणाले राजिनामा नदिए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।