अखिल एकाइ सचिवदेखि मुख्यमन्त्रीसम्म राईको यात्रा

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित



माेरङ, १७ कात्तिक । प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई थिए । उनले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको शपथ लिएका थिए । आचार्यले विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि राजीनामा दिएपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ तथा सहयोगबाट मुख्यमन्त्री बनेका हुन ।

नवनियुक्त मुख्यमन्त्री राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका–१० सुर्केमा भएको थियो । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमध्ये कान्छा सदस्य उनले विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए । विद्यालयको अखिल एकाइ सचिवबाट सुरु गर्नुभएको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म भएका छन् । विसं २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनले लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरे ।

एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बनेका थिए । उनी दुई कार्यकाल लगातार अध्यक्ष भए । लामो समय अखिल राजनीतिमा सक्रिय उनले पहिलोपटक २०६८ मा पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएर पार्टीमा सक्रियता बढाए । विसं २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्दै उनी २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए। पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताएका थिए । माओवादी द्वन्द्वकालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा गरेर एक सातासम्म माओवादी कब्जामा राखेकाे थियाे ।