
म्याग्दी, २२ कात्तिक । बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ । बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन् । पछिल्लो चार वर्षमा रु ९० लाख लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु दश लाख विनियोजन भएको वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।
गत वर्ष विनियोजन भएको रु सात लाख बजेटबाट निर्माण भएको खेलमैदान परिसरको दुईकोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले शुभारम्भ गरे । “भवनको एक÷एक कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि हस्तान्तरण गरिएको छ”, उनले भने, “धौलागिरि क्षेत्रकै ठूलो र व्यवस्थित खेलमैदान बनाउन क्रमागत योजनामा समावेश गरेर बजेट व्यवस्थापन भएको छ ।” गत वर्ष प्राप्त रु दश लाख बजेटमध्ये रु सात लाखले दुई कोठे भवन, रु एक लाख ५० हजारले नाली निर्माण र रु एक लाख ५० हजारले खेलमैदान सम्माउने काम भएको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा रु ५० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पाँच तह भएको ६० मिटर लम्बाइ र २।७० मिटर चौडाइको प्याराफिट बनाइएको थियो । प्याराफिटमाथि १० फिट अग्लो तारजालीसमेत लगाइएको छ । आव २०७५÷७६ मा रु २० लाखको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको थियो । आव २०७४÷७५ मा बेनी नगरपालिकाको रु दश लाख लागतमा २०० मिटर तारजाली लगाइएको थियो । “यस वर्ष पनि रु दश लाख विनियोजन भएको छ”, सांसद थापाले भने, “पर्याप्त जग्गा भएकाले रत्नेचौर खेलमैदानलाई रङ्गशाला बनाउन प्रस्ताव गरिएको छ ।”
हाल १६० मिटर लम्बाइ र १०० मिटर चौडाइ भएको खेलमैदानलाई अझै विस्तार गर्न सकिने जग्गा छ । सो खेलमैदानमा ११÷११ खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने जनाइएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



