सहारा खेलकुद पत्रकारिता पुरस्कार पौडेललाई

-



     सफल आवाज    
     भाद्र २० गते २०७७ मा प्रकाशित



पोखरा, २० भदौ । इन्द्रप्रसाद पौडेललाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समिति संयोजक अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित समितिले पौडेलको नाम सिफारिस गरेकोमा सहारा क्लब पोखराको शुक्रबार बसेको कार्यसमिति बैठकले नाम अनुमोदन गरेको हो ।

फुटबलमार्फत् सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधि प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदान आधारमा वर्षेनी पुरस्कार प्रदान आएको छ । पुरस्कार राशि २० हजार ५ सय ५५ र ताम्रपत्र छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा भदौ ३० मा सो पुरस्कार प्रदान गरिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

पत्रकार पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आवद्ध छन् । त्यसअघि उनले समाधान र पोखरा हटलाइनमा फोटोपत्रकार तथा संवाददाता भइ काम गरेका थिए । कास्कीको ढिकुरपोखरीका पौडेल हाल पोखरा बस्छन् ।

पत्रकार महासंघ गण्डकी सचिव समेत रहेका पौडेल प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार–२०७२, कास्की जिल्ला भलिबल संघ, फोटोग्राफर संघ पोखरा लगायत संघसंस्थाबाट सम्मानित भैसकेका छन् ।

सो पुरस्कार यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठलाई दिइएको थियो ।

प्रतिभा छनोट समितिमा यसपालि पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, एन्फा कास्की पूर्व अध्यक्ष खेमबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालयप्रमुख प्रकाश बराल, क्लब पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य तथा पदेनसदस्यमा क्लब अध्यक्ष केशवबहादुर थापा र महासचिव रामजीप्रसाद अधिकारी थिए ।