
काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।
राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरे । देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणक आउँदै छन् ।
प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गरे । यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् ।
“विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ”, उनले सन्देशमा उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराई दिनुहुन सम्पूर्ण देशवासीलाई अनुरोध गरेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



