
काठमाडौं, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गर्नुभएको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन् ।
सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । साथै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिन ।
“हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना, भजन, कीर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विनाभेदभाव निःशुल्क सामूहिक भोजन गर्ने‘लङ्गर परम्परा’ छ ।
यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्नेसमेत देखिन्छ”, सन्देशमा भनिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



