कांग्रेस निर्वाचन मत परिणाम : इलाम प्रदेश–२ सभापतिमा चौहान

-



     सफल आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनी २२९ मतसहित विजयी बने । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरे । त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी बने । उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरे । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भए । उनीहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गरे।

सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की जिनयी भए । उनीहरुले क्रमशः २७० र २५६ मत प्राप्त गरे । जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन । अन्य स्थानको भने मत गणना भइरहेको छ ।

म्याग्दीः नेपाली कांग्रेस म्याग्दीका उपसभापति ्लगायत पदाधिकारी मतदानबाट चुनिएका छन् । जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो ।

शनिबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचिन हुनुभएको निर्बाचन अधिकृत निरञ्जन राजभण्डारीले बताए । ४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए । उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरे । सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गरे। सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए । सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि कांग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित भए । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित भए ।

दमौलीः नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँका दुई प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । एउटामा मतदानमार्फत र अर्कोमा निर्विरोध नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भए । शुक्रबार राति सम्पन्न मतगणनाबाट दुई सय ९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भए । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले दुई सय १६ मत प्राप्त गरे। यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मीनबहादुर गुरुङ निर्वाचित भए ।

प्रदेश प्रतिनिधिमा भने मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भए । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भए । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भए। यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध भए ।

तनहुँ क्षेत्र नम्बर १ (ख) र तनहुँ क्षेत्र नम्बर २ (क) मा भने मतगणना भइरहेको छ । रामपुर (पाल्पा)ः नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भए । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा निर्विरोध निर्वाचित भए । उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भीमबहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भए । अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन् । खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए।

त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भए ।

तुलसीपुरः दाङमा कांग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको मनोनयन दर्ता पश्चात् नौ जना निर्विरोध निर्वाचित भएका हुन । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चूर्णबहादुर चौधरी निर्विरोध भए । त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुवकुमार पुन, खसआर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भए । त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भए । उनी क्षेत्र २ (ख) अन्तर्गत हुन । खस आर्यतर्फबाटै निर्वाचन क्षेत्र १ को (ख)बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बीना न्यौपाने निर्विरोध निर्वाचित भए । अन्य पदमा भने निर्वाचन हुनेछ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि हुँदैछ ।