कोभिड-१९ ले असरसंगै पाठ पनि सिकायो : मन्त्री बुढा(भिडियाे)

-



     सफल आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित



पोखरा ४ मंसिर । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले कृषिको आधुनिकतामा जोड दिनुपर्ने बताएका छन् । साथै उनले काेभिड १९ ले नकारात्मक असरसंगै काम गर्ने अवसर पनि जुराएकाे बताए ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कोभिड १९ ले कृषि तथा खाद्य, शिक्षा र अनौपचारिक क्षेत्रमा पारेको प्रभाव सम्बन्धी संवाद कार्यक्रममा बोल्दै मन्त्री बुढाले भूमि ऐन सम्बन्धि असपष्ट नीतिका कारण केहि समस्या हुँदा उत्पादकत्व वृद्धि हुन नसकेको बताए । आयात प्रतिस्थानमा जोड दिँदै कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो ।

मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीले कोरोनाले विश्व अर्थतन्त्रलाई नै असर गरेको बताउदै स्थानीय तह आधारभुत सरकार भएकाले स्थानीय तहलाई सबैभन्दा बढी प्रभावकारी बनाइनु पर्नेमा जोड दिए ।

सांसद मीना गुरुङले कोरोनाले सिंगो विश्वलाई नै असर गरेको बताइन् । कोरोनाले श्रमिक वर्गलाई सबैभन्दा बढी असर गरेको उनको भनाइ छ । नीति बन्ने तर कार्यान्वयन नहुने अहिलेको प्रमुख समस्या रहेको उनको भनाइ थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले कोरोनाले कृषि तथा खाद्य क्षेत्रमा पारेको असर, शिक्षाका लागि राष्टिय अभियान केन्द्रका अध्यक्ष राजेन्द्र पहारीले शिक्षा क्षेत्रमा पारेको असर र जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले अनौपचारिक क्षेत्रमा पारेको असर सम्बन्धि छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापा, शिक्षा विकाश निर्देशनालय गण्डकीका प्रमुख घनश्याम पौडेल, गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी, श्रम कार्यालय पोखराका प्रमुख विवेक यादव, मानवअधिकार एलाइन्स गण्डकीका अध्यक्ष रामचन्द्र पौडेल, नेकपा एमाले कास्कीका नेता दामोदर बैरागी लगायतले बोलेका थिए ।

सो अवसरमा खाद्य स्वच्छता सम्बन्धि जनचेतना मुलक वृत्तचित्र समेत देखाइएको थियो । मानवअधिकार एलाइन्सका केन्द्रीय सचिव गोविन्द पहारीको अध्यक्षतामा भएको कार्यक्रममा एलाइन्सका केन्द्रीय सदस्य शिव खकुरेलले सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाकाे भनाइ :

by :safalawaj.com