जनताको सेवामा समर्पित हुन निजामती कर्मचारीलाई प्रम ओलीको आग्रह

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई देश विकास र जनताको सेवामा निष्ठापूर्वक लागिरहन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा कर्मचारीलाई शुभकामना सन्देश दिदैं ओलीले यो बिचार व्यक्त गरेका हुन ।

प्रधानमन्त्री ओलीले आज दिएको शुभकामना सन्देशमा स्वच्छ आचरण र उच्च नैतिक मनोबल बनाएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन । उनले आफ्नो कार्य क्षेत्रमा दक्षता वृद्धि गरेर जनताको सेवामा लागिरहन पनि आग्रह गरेका छन् ।

तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले विसं २०१३ सालमा पहिलो पटक देशमा आजकै दिन निजामती सेवा ऐन लागु गरेको थियो ।

प्रम ओलीले कर्मचारीलाई राष्ट्रिय एकताको भावनामा एकाकार भएर सुशासन र प्रगतिको बाटोमा हिड्न आग्रह गरेका छन् । सन्देशमा उनेले भनेका छन् ः“कर्मचारीमा उच्च नैतिक आचरण, पेशागत निष्ठा, जनताप्रति उत्तरदायी र जनतामा असल शासनको व्यावहारिक रुपमै अनुभूति प्रदान गर्न शक्ति मिलोस् मेरो कामना छ ।”

प्रम ओलीले कोभिड–१९ को महामारी भईरहेको अवस्थामा यसलाई परास्त गर्नको लागि जोखिम मोलेर सबैभन्दा अगाडी रहेर काम गरिरहेका राष्ट्रसेवकहरुलाई दिवसको अवसरमा सम्मान व्यक्त गरेका छन् ।

राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष रुपमा भएको योगदान प्रशंसनीय रहेको छ, “तानाशाही शासनविरुद्धको संघर्ष, पाएको दुःख, गरेको वलिदान र पेशागत अधिकारको लागि भएका संघर्ष सकारात्मक र प्रशंसनीय रहेका छन्, उनको सन्देशमा लेखिएको छ ।

कोभिड–१९ को कहर र बाढी, पहिरो, आगलागी लगायतका विपद्को बेलामा कर्मचारीले गरेको कामको प्रधानमन्त्री ओलीले सन्देशमार्फत प्रशंसा गरेका छन् ।