प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्षे जेल सजायको फैसला

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय दिने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उल्लंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उनलाई कारागार चलान गर्नुपर्ने फैसला सोमबार गरिएको भए पनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भएको छैन ।

कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्दा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् । नेतृ सुकीलाई यो बाहेक आर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौं मुद्धा सैनिक सरकारले लगाएको छ । ती मुद्धाहरुमा दोषी ठहर भएमा उनलाई आजीवन जेल सजाय हुनेछ । ती मुद्दाहरुमा अहिले सुनुवाई भइरहेको छ । तर, सुकी र उनका समर्थकहरुले भने राजनीतिक पुर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्दाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको हो । सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो ।

आन्दोलनका क्रममा एक हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कैयौं घाइते भएका थिए । त्यसैगरी आन्दोलनमा सहभागीमध्ये हजारौंलाई प्रहरीले गिरफ्तार गरेको छ । तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर, अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन । (एजेन्सी)