राप्रपा महाधिवेशनमा पूर्वराजाले फोहोरी हस्तक्षेप गरे : कमल थापा (विज्ञप्तिसहित)

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले फोहोरी हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका छन् । अध्यक्षमा पराजित भएपछि मंगलबार विज्ञप्ति निकालेर उनले नेतृत्व चयनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले भजनमण्डली बनाएको राप्रपाका नेतृत्वको चरित्रहत्या गर्ने र भ्रम सिर्जना गराउने कार्य भएको भन्दै उनले राजसंस्थाको मान्यतामा अहिले पनि आफू रहिरहेको बताएका छन् । ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन ।’ उनले भनेका छन् ।

२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको थापाले विज्ञप्तिमा लेखेका छन् । उनले भनेका छन्, ‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकको रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहिरहनेछ ।’