कन्या क्याम्पस ३१ औं बर्षमा प्रवेश, समय सापेक्ष शिक्षामा जोड दिऔं-प्रदेश प्रमुख गुरुङ

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । कन्या क्यामपसको ३० औं बार्षिकोत्सवलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले २१ औं शताब्दीको शिक्षा नै आजको आवश्यकता रहेको बताए । विकसित मूलुकले शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले कमजोर आर्थिक अवस्थाका कारण नेपालले भने शिक्षामा पर्याप्त लगानी गर्न नसकेको बताए ।

उनले नीजि क्षेत्रबाट सञ्चालित क्यामपसले गुणस्तरीय शिक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे । अहिलेका नारी स्वाभिमानका साथ आफनै खुट्टामा उभिन सक्षम भएकाले क्यामपसको नाममा पुर्नविचार गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुरेश मानन्धरले सबैको साथ र सहयोगका कारण क्यामपसले छात्राहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताए । क्यामपसमा २० बर्ष सेवा गरेका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ र राधा शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न दाताहरुको तर्फबाट अक्षयकोषका लागि क्यामपस प्रमुख मानन्धर र सञ्चालक समितिका कार्यवाहक अध्यक्ष शिवलाल मल्ललाई चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री एवं व्यवसायी हरीप्रसाद पाण्डे, जनप्रतिनिधि शारदा पराजुली, रबिन्सन प्रजु, क्यामपस प्राध्यापक संघका सभापति क्षेत्रबहादुर क्षेत्री, कन्या मावि अभिभावक संघका अध्यक्ष महेन्द्र राई, छात्रा कल्याण समिति संयोजक ममता शाह लगायतले बोलेका थिए । २०४८ सालमा पोखरा–३ नदिपुरमा स्थापित क्यामपसमा विभिन्न संकायमा गरी हाल ६ सय ५६ जना छात्राहरु अध्यनरत छन् ।