माग पूरा नभए लोसपा विस्फोट हुन्छ : महन्थ ठाकुर

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरु पूरा नभए लोसपा ज्वालामुखी जसरी विस्फोट हुने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले आफूहरूको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको स्मरण गरे ।

अध्यक्ष ठाकुरले भने, ‘हामीहरूले शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले गोली चलायो, त्यसले धनजनको ठूलो क्षति भयो । पार्टीका सांसद रेशम चौधरी टिकापुरको घटनामा जेलमा छन् । उनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ ।’ महोत्तरीमा पनि आन्दोलनको कारण ५३ जनामाथि मुद्दा चलेको उनले बताए । उनले आन्दोलनका लागि २० लाख जनता उतार्ने चेतावनीसमेत दिए ।