
काठमाडौं, २५ मङ्सिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका छन् । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गरे । नेता पौडेलले भने, “मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।” उनले पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि उनले विज्ञप्तिमा गरेका छन् ।
चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उनले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराएका छन् । उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
“लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,” उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।”







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



