कांग्रेस महाधिवेशन : ‘हाइटेक’ जमानामा ‘हिलटेक’ को प्रयोग

-



     सफल आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान हुँदैछ ।

सोमबार मतदानका लागि मात्रै १० घण्टा खर्चिएको नेपाली कांग्रेसले सभापति चुन्न सकेन । सभापतिका प्रत्यासी शेरबहादुर देउवा, डा. शेखर कोइरालासहित पाँच जनाको प्रतिस्पर्धा भएको थियो । मतपरिणामअनुसार कसैको पक्षमा पनि ५१ प्रतिशत मत नआएपछि मंगलबार ३ बजेदेखि पुनः सभापतिका लागि मतदान हुने भएको छ ।

सोमबार भएको मतदान विधि भने बदलिँदो प्रविधि विकाससँगै अघि बढ्नुपर्नेमा पुरानै घण्टौं लाइन बस्नुपर्ने विधि अपनाएर मतदाताले १० घण्टा लाइनमै बस्नुपरेको हो । सबैभन्दा पुरानो दल कांग्रेसले पुरानै निर्वाचन विधि अपनाउँदा मतदानका लागि मतदाता लाइनमै बसेका बेला पटक–पटक मतपत्र नै सकिए ।

छिटो, छरितो तथा कम खर्चालु भनिएको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्नेमा कांग्रेसमा पुरानै शैली अपनाएको भन्दै कांग्रेसको व्यापक आलोचना नै भयो । असुरक्षित तथा झन्झटिलो पुरानो मतदान विधिलाई नयाँ रङ दिन नसक्नुलाई धेरैले बूढो पार्टीको बूढै गति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा एक फेसबुक प्रयोगकर्ताले व्यङ्गय गर्दै लेखेका छन्, ‘मतपत्र सकियो रे, लाजै मर्दो । अर्बौंका पोष्टरहरुले काठमाडौं नै रङ्ग्याउने कांग्रेसले दुई/चार हजार रुपैयाँको मतपत्र पनि छाप्न नसक्ने रहेछ, कस्तो विडम्बना । मतपत्र सकियो भन्नु मलाई त बाल्यकालमा परीक्षामा थप कापी मागेको याद आयो ।’

भरखर मात्रै नेकपा (एमाले) को केन्द्रीय कमिटीको महाधिवेशन र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा समेत विद्युतीय भोटिङको प्रयोगले निकै सहज भएको थियो । छोटो समय र कम खर्च मै राप्रपा र एमालेले मतदान सकेका थिए । तर, कांग्रेसलाई भने विद्युतीय भोटिङ मेसिनको विश्वासनै लागेन ।

नेपालमा प्रविधिको विकास नभएको भने होइन । तर, त्यसलाई नेतृत्वले नै गम्भीर रुपमा नलिँदा वैज्ञानिकहरु पलायन हुनुको अन्य विकल्प नै नभएको कांग्रेस मतदान विधिले बताउँछ । एमाले र राप्रपाको महाधिवेशनमा युवा वैज्ञानिकद्वय राम-लक्ष्मण रिमालले नेपालमै बनाएको विद्युतीय मतदान मेसिनले छोटो समयमै मतदान र मतपरिणाम देखाए ।

कांग्रेसमा पनि विद्युतीय भोटिङ मेसिनका लागि छलफल भयो तर, अधिकांश नेताहरुले त्यसलाई शंकाको घेरामा राखे र मतपत्र र मतपेटिका (पानी भर्ने ड्रम) नै छनौटमा राखे । जसले गर्दा एक जना मतदाताले मतदान गर्न डेढ घण्टा समय खर्चनुप¥यो । चितवनमा मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दा मतपरिणाम दुई÷तीन घण्टाभित्रै सार्वजनिक भयो ।

१०० विद्युतीय भोटिङ मेसिनमध्ये महाधिवेशनमा ९० उपकरणका प्रयोग गरियो भने ४८ पदका लागि मतदान भएको थियो । यो मेसिनको प्रयोग गर्दा पार्टी निर्वाचन आयोगले मत्रपत्रसमेत छाप्नु परेन । एमालेको अभ्यासलाई राप्रपाले पनि आफ्नो महाधिवेशनमा प्रयोगमा ल्यायो र छोटो समयमै मत परिणाम सार्वजनिक ग¥यो । विद्युतीय भोटिङ मेसिनमा एक मतदाताले १५/२० मिनेटमै मतदान गरिसक्छन् । तर, कांग्रेसले कागजी मतपत्रमा विद्युतीय मेसिनको भन्दा एक घण्टाभन्दा बढी समय प्रति मतदाताले खर्च गर्नुपरेको छ ।

प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम-लक्ष्मण रिमालले नेपालमै बनाएको (स्वदेशी भोटिङ मेसिन) प्रयोग गरिदिन निर्वाचन आयोगलाई आग्रह गर्दासमेत आयोगले चासो नदेखाउँदा कांग्रेसले पनि शंकाको घेरामा हेरेको कांग्रेसका नेताहरु बताउँछन् । देशमा सबै तहको चुनाव सम्पन्न गराउँदा निर्वाचन आयोगले मात्रै करिब २० अर्ब रुपैयाँ खर्च गर्छ । तर, मेसिनमार्फत् मतदान गर्ने हो भने त्यो पैसा सबै बचत हुन्थ्यो । त्यतिमात्र नभई मुलुकले प्रविधि निर्यातसमेत गर्ने अवसर पाउँथ्यो ।

वैज्ञानिक राम-लक्ष्मणका अनुसार सामान्य परिवर्तन गरी एक पटक प्रयोग भइसकेको मेसिन अर्को चुनावमा समेत प्रयोग गर्न सकिन्छ । शताब्दीअनुसार सुहाउँदो पनि हुन्छ । उनीहरुले बनाएका विद्युतीय भोटिङ मेसिन आँखा नदेख्ने व्यक्तिले पनि अर्काको सहयोगबिनै मतदान गर्न सक्छन् । आँखा नदेख्ने व्यक्तिले मतदान गर्दा स्क्रिनमा रहेको चुनाव हरेक चिह्नमा औंला पुग्दा मेसिनले उक्त चिह्नको नाम बताइदिने गरी विकास गरिएको छ ।

सभापतिका लागि ५१ प्रतिशत अनिवार्य

कांग्रेस विधानको दफा १६ (ख)मा ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था छ । दफा १६ (ग)मा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ ।

अहिलेको सभापतिमा जित हासिल गर्न खसेको मत अर्थात् चार हजार ६८० मतको ५० प्रतिशत कटाउनुपर्छ । अर्थात्, दुई हजार ३४१ मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले भने ४८ प्रतिशत मात्रै मत ल्याए । पुनः सभापतिका लागि आज तीन बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।