कोभिडको असर अर्थतन्त्रमाः २३ प्रतिशतले गुम्यो आन्तरिक रोजगारी

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ भदौ । कोरोना भाइरस (काभिड–१९) को गहिरो असर अर्थतन्त्रमा परेको अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोजका सदस्य डा. रामेश्वर फुयालको संयोजकत्वमा भएको अध्ययनले धेरैले रोजगारी गुमाएको र त्यसको असर अर्थतन्त्रमा देखाएको उल्लेख छ । कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७७।७८ मा सरकारले थप ३० प्रतिशत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको डा. फुयालले जानकारी दिए । उनले सिर्जना गरिएका थप ३० प्रतिशत रोजगारीमा विदेशबाट रोजगारी गुमाएर रित्तै फर्किएका ४० प्रतिशत, स्वदेशमा रोजगारी गुमाएर बेरोजगार बनेका ४० प्रतिशत र नयाँ २० प्रतिशतलाई प्राथमिकताका आधारमा रोजगारी उपलब्ध गराइने योजना सरकारको रहेको पनि जानकारी दिए ।

डा. फुयालले श्रमिक बलियो नभएसम्म उत्पादन राम्रो हुन नसक्ने भएकाले श्रमिक वर्गको सुरक्षालाई ध्यानमा राखेर चालू आवका योजना बनाइएको बताए । अध्ययन प्रतिवेदनमा श्रमिकले कस्तो रोजगारी गुमाए, उनीहरूका लागि भोलिका सम्भावित रोजगारका क्षेत्र के कस्ता हुन सक्छन् भन्ने विषय समेटिएको उल्लेख छ ।

डा. फुयालका अनुसार प्रतिवेदन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) हस्तान्तरणको तयारीमा रहेकाले थप कुरा पछि सार्वजनिक गरिनेछ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशी तथा स्वदेशी रोजगारीमा परेका असर, बेरोजगारीको अवस्था र सम्भावित रोजगारीका अवसरका विषयमा अध्ययन गर्न योजना आयोगका सदस्य फुयालको नेतृत्वमा गत वैशाखमा गठन गरिएको हो । कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक÷एक जना सहसचिवको सहभागिता रहेको छ ।

यसैगरी अध्ययन प्रतिवेदनमा कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषणमा ठूलो नोक्सानी नभएको उल्लेख छ । गत चैतदेखि जेठसम्म स्वदेश तथा विदेशमा गरिएको बन्दाबन्दीमा नेपाल भित्रिने विप्रेषणमध्ये औसतमा १५ प्रतिशत मात्रै घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी भित्रिएको ठूलो परिणामको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको पनि अध्ययनमा उल्लेख गरिएको छ ।