गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

नवलपुरको देवचुली–१ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मंगलबार साँझ मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्तिमार्फत् जनाएको हो ।

मिर्गौलाका रोगी उनलाई भदौ १७ मा कोभिड–१९ पुष्टि भएकोमा श्वासप्रश्वासमा समेत समस्या भएपछि भदौ १९ मा उपचारार्थ चितवनको कोभिड अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा पछिल्लो समय निमोनिया समेत थियो ।

मिर्गौलाका बिरामी भएपछि उनको नियमितरुपमा भरतपुर अस्पतालमा डायलाइसिस समेत हुँदै आएकोमा स्वास्थ्यमा जटिल समस्या देखापरेपछि कोभिड अस्पतालको भेन्टिलेटरसहित सबै उपायहरु गर्दागर्दै मंगलबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल प्रशासनलाई उद्घृत गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरामा मंगलबारमात्र पोखरा–१० की ७३ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको थियो।