
गोरखा, १० पुस । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पुर्याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् ।
गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न गएकाे बेला उनले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए । “यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो”, गृहमन्त्री खाँणले भने, “एमसिसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ ।”
एमसिसी सम्झौतालाई टुङ्गोमा पुर्याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन् । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो । फरक प्रसङ्गमा उनले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उनले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए । “आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ, सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ”, गृहमन्त्री खाँणले भने । निर्वाचनमा सहयोग पुर्याउने सरकारको दायित्व भएको जनाउँदै उनले आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



