किन ग्राउन्डेड भयो निगमको न्यारो बडी जहाज ?

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ ।

उक्त जहाज काठमाडौं–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताइन । उनका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ ।

इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ । निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौं–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो । उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनीयरिङ टिमले मर्मत गरेको थियो ।

तत्पश्चात उक्त जहाजले काठमाडौँ–दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन् ।