
काठमाडौं, १७ पुस । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ । अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । आज साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ ।
आज साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशनस्थल कमलादीमा आज साँझको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरे ।
अध्यक्षले गरेको प्रस्तावलाई बन्दसत्रले स्वीकार गर्दै आजको सबै प्रक्रिया भोलिसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आजको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो । बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए। उनले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि सर्वसहमतिले पारित गरेको थियो ।
नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकाेमा बढाएर १५ प्रतिशत बनाइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।
गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गरेका थिए। मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो । बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए । एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



