भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भौतिक रुपमा हुने कामलाई कम गर्ने निर्देशन जारी गरेको छ ।

सोमबार एक सूचना निकाल्दै राष्ट्र बैंकले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । कोरोना महामारीको संक्रमणको दर बढेको भन्दै प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिएको छ ।

राष्ट्र बैंकले सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न, एटीएम बुथहरुबाट हुन सक्ने जोखिम कम गर्नका लागि एटीएमभित्र, स्यानिटाइजर तथा ढोका खुला राख्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रमहरु पनि सकेसम्म भर्चुअल माध्यमबाट गर्न सुझाब दिएको छ ।