भारतले एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न नेपालको आग्रह

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेका हुन् ।

आइतबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताए ।

सरकारको तीन बुँदे धारणा

१. महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ ।

२. नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माणरविस्तार रोक्न आग्रह गर्दै आएको छ ।

३. नेपाल-भारतको बीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहिआएको छ ।