साप्ताहिक रिपोर्टः ६ कम्पनीको ८५ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

-



     सफल आवाज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ भदौ । पछिल्लो एक सातामा करिब ८५ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । यो साता विभिन्न ६ कम्पनीको करिब ८६ लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको हो । नेप्सेका अनुसार यो साता शेयर सूचीकृत हुनेमा सिभिल लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स र साइन रेसुङ्गा डेभलपमेण्ट बैंक रहेको छ ।

वोमी लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ५२ हजार ७२० कित्ता शेयर सूचीकृत गरेको हो । वोमीले गत असार १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभा मार्फत रू.१० करोड १० लाख ८८ हजार चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, नागबेली लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ३५ हजार ९६६ दशमलव ७० कित्ता शेयर भदौ २४ गते नेप्सेमा गराएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत माघ २६ गते पारित गरेको थियो ।

त्यसैगरि, नेप्सेमा पु्रडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १२० कित्ता र साइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यसैगरि, सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वापतको ५७ हजार ५७ कित्ता र सपोर्ट लघुवित्तले १० प्रतिशत बोनस शेयर वापतको ६० हजार कित्ता शेयर सूचीकृत गराएका छन् ।