अन्त्येष्टिपछि कोरोना पुष्टि, २ सय मलामी क्वारेन्टाइनमा

-



     सफल आवाज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित



पोखरा, २७ भदौ । पोखराको फिस्टेल हस्पिटलमा उपचारक्रममा मृत्यु भएकी एक महिलाको दाहसंस्कारपछि मात्र कोरोना पुष्टि भएको छ । उनको अन्त्येष्टिमा मलामी गएका झण्डै २ सय जना मानिसहरु क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका–३ घर भइ हाल पोखरा–५ निवासी ४५ वर्षीया ती महिलाको भदौ २६ गते राति १ बजेर १५ मिनेटमा मृत्यु भएको थियो ।

ब्लड क्यान्सरपीडित ती महिलाको ३ दिनदेखि अस्पतालको आइसीयूमा राखेर उपचार हुँदै आएकोमा शुक्रबार मृत्यु भएपछि अस्पतालले कोरोना रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएको थियो ।

मृतकका आफन्तका अनुसार अस्पतालले कोरोना नभै अन्य कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर शुक्रबार नै रामघाटमा अन्त्येष्टि गरिएको थियो ।

पोखराका एक अग्रज पर्यटन व्यवसायीको धर्मपत्नी भएकोले पनि अन्त्येष्टिमा सहभागी मलामीहरु आफन्तका अलावा पर्यटन व्यवसायी, गण्डकी प्रदेश सांसद, जनप्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत झण्डै २ सयको संख्यामा उपस्थित थिए ।

गत बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा शनिबार बिहानमात्र रिपोर्ट पोजेटिभ देखिएको हो । कन्ट्याक्ट ट्रेसिङ आधारमा मलामी गएका सबैलाई होम क्वारेन्टाइन बस्न पोखरा महानगर स्वास्थ्य महाशाखाले निर्देशन दिएको छ ।

यसैबीच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा शनिबार बिहान स्याङ्जा पुतलीबजार–१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।