नबिल बैंकको नाफामा सुधार, वितरण योग्य मुनाफा कति ?

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । नबिल बैंकले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खुद नाफामा सामान्य सुधार देखिएको छ ।

पुसको अन्तिमसम्म बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत वर्षको सोहि अवधिमा कमाएकोभन्दा ८.२० प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले र कमिशन आम्दानी ०.५१ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको संचालन नाफा ८.६० प्रतिशतले बढेको देखिन्छ । गएको वर्ष पुसको अन्तिमसम्म १३ करोड ९१ लाख रिभर्स रहेको बैंकको इम्पेयरमेन्ट चार्ज यस वर्षको सोहि अवधिमा ४० करोड १७ लाख पुगेको छ । जसको कारण संचालन मुनाफामा दबाब भयाे । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रहेको छ ।

बैंकको नाफामा सामान्य सुधार भएपनि प्रतिसेयर आम्दानी इपिएस घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९९ पैसाबाट घटेर २३ रुपैयाँ ५९ पैसामा सिमित भएको छ । मूल्य आम्दानी रेसियो ४७.०६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

यस आर्थिक वर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोषमा २२.११ प्रतिशत घटेको छ । निक्षेप ४.०६ प्रतिशतले बढेको छ भने कर्जामा ८.६८ प्रतिशतले बृद्धि भएको छ ।