पहिरो प्रभावितलाई सहयोग हुन्छ:सभामुख

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


तस्बिर:देवराज सुवेदी-रासस


सिन्धुपाल्चोक, २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन । त्यस अवसरमा उनले पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए ।

सापकोटाले भौगोलिक अध्ययन गराएर त्यहाँको बस्ती सार्नुपर्ने, नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाए ।

गएराति गएको पहिराेले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीन घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

यसैगरी आज बिहान गएको पहिराेले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीयवासी विमला पौडेल घाइते भएकाे बताइएकाे छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराेले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन ।