वित्तीय आम्दानी बढेपछि चिलिमे जलविद्युतको नाफामा सुधार

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ माघ । चिलिमे जलविद्युत कम्पनीले नाफामा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस पटक कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ ।

यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा गएको वर्षको साेहि अवधिकोभन्दा २.२४ प्रतिशतले बढी हो । कम्पनीको वित्तीय आम्दानी बढेको छ तर विद्युत बिक्री आम्दानी घटेको छ ।

कम्पनीको बिद्युत बिक्री आम्दानी २.३५ प्रतिशतले घटेको देखिएको छ । संचालन नाफा ५.६० प्रतिशत घटेको छ । वित्तीय आम्दानी भने ७५.५४ प्रतिशतले बढेको छ । कम्पनीले चुक्ता पूँजी ७ प्रतिशतले बढेको जनाइएको छ ।

कम्पनीको नाफामा सामान्य सुधार भएपनि प्रतिसेयर आम्दानी घटेको छ । गएको पुसको अन्तिमसम्म १२ रुपैयाँ ५० पैसा रहेकोमा यस अवधिमा घटेर ११ रुपैयाँ ८९ पैसा भएको छ । कम्पनीको मूल्य आम्दानी रेसियो ४१.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।