
काठमाडौं, २९ भदौ । शान्ति विज्ञ राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ ।
भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पाएनन् ।
राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन् । उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन् । अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा मुल्याङ्कन भएको थियो ।
राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन । यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आइईपीपिस एम्बासेडरका रूपमा समेत चुनिएका थिए ।
कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेताहरुमा अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, ईरानी÷आर्मेनियाली सङ्गीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता÷निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी लगायतका रहेका राष्ट्रिय समाचार समितिले लेखेको छ ।
यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो । यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय सङ्गठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



