राष्ट्र बैंकले ३६६ दिनका लागि २ अर्ब ३० करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

३६६ दिनका लागि राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले लगानीयोग्य रकम २०७८ फागुन ३ गतेदेखि २०७९ फागुन ३ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकका अनुसार निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफू लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी माघ २० गतेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेप राख्न चाहने बैंक त वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, रियल स्टेड कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएकोलगायत सर्तहरु राखेको छ ।