
पोखरा, १९ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा लामा अमृत फाउण्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भिरमा रेलिङ निर्माण गरेको हो ।
घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । सो स्थानमा असोज २५ गते जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
गुरुङले दुर्घटनापश्चात् नकारात्मक सन्देश प्रवाह भएको बताउँदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरेको बताए । ‘त्यो दुर्घटना अत्यन्तै दुःखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबरपछि हामीले धुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौ,’ उनले भने, ‘यति मात्र नभएर यही क्षेत्रमा भएका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौं । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पुर्याउँछ ।’
उनले सो संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिँदै घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने बताए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउँथे । अहिले यो बनाइसकेपछि सबै धुक्क बनेका छन् ।’ गुरुङले भने । त्यसैगरी प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउण्डेशनले सकारात्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो कार्यले सबैभन्दा त सकरात्मक सन्देश पुर्याएको छ । अब सहजै सवारीसाधनहरु घान्द्रुक भित्रिन सक्छन्,’ उनले भने, ‘अझ सरकारी पक्षले पनि थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्छ ।’
अब ढुक्क भैयो : एम्बुलेन्स चालक
भारत राजदुतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समितिका संयोजक यामबहादुर गुरुङले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताए । उनले सो रेलिङ निर्माणको संयोजकको रुपमा काम गरेको बताउँदै रेलिङ निकै बलियो रहेको जानकारी दिए । ‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौ,’ उनले भने, ‘योमाथि जति उठेको छ । त्योभन्दा बढी नै जमिनमा पनि पीसीसी गरेर गाँडेका छौं । यो बाटोमा गुड्ने सवारीलाई यसले सहजै रोक्न सक्छ । अब बल्ल धुक्क भएका छौं ।’
उनले सो क्षेत्रमा दुर्घटनापश्चात् प्रायः सवारी चालकहरु त्रसित भएको बताउँदै भने, ‘यो ठाउँमा सबैभन्दा ठूलो दुर्घटना नै यही थियो । त्यसैले यहाँ आउँदा अलि कस्तो लाग्थ्यो अब भने चालकहरुले पनि धुक्क भएको प्रतिक्रिया दिएका छन् ।’ गुरुङले सो सडक बिस्तार गर्दा आफू सचिव रहेको स्मरण गर्दै निजी स्रोतबाट सडक निर्माण गरेको बताए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक विस्तार गरेको बताउँदै भने, ‘यो बाटो यहीको गाउँलेले उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख मात्रै हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन ।’
उनका अनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौ,’ गुरुङले भने । सो कलाभिरमा असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालक अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जीनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, २७ वर्षीय विनय क्षेत्रीले घटनास्थलमै ज्यान गुमाएका थिए भने २० वर्षीया देवीका घिसिङलाई सकुशल उद्धार गरिएको थियो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



