वडा सदस्य महर्जनविरुद्ध २ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घुससहित पक्राउ परेका महर्जनलाई आयोगले २ लाख रुपैयाँ विगोसहित मुद्दा दायर गरेको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । महर्जनलाई अख्तियारको टोलीले गत भदौ २१ गते २ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार महर्जनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा २ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजायका लागि विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

भण्डारीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो २ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’