फेवाताल अतिक्रमण सम्बन्धमा महानगरको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ भदौ । फेवातालको क्षेत्र अतिक्रमण भएको सम्बन्धमा पोखरा महानगरपालिकाले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार पोखरा महानगर प्रमुख मानबहादुर जीसीले प्रधानमन्त्री ओलीलाई सो प्रतिवेदन बुझाएका हुन् ।

महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा फेवातालको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थिति समेटिएको बताइएको छ । यस्तै तालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाई समेत प्रतिवदेनमा उल्लेख छ ।

यसअघि सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन हस्तान्तरण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, नापी कार्यालय कास्कीका प्रमुख खिमराज गौतम लगायत उपस्थित थिए ।