
गलेश्वर, २३ माघ । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताए।
“मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ”, उनले भने, “धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द आयो ।” उनीसंगै हिउँ खेल्न जिल्लाको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएका सुमन रिजालले पनि पहिलोपटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताए । “चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो”, उनले भने, “यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ ।”
जिल्लाका छवटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो । सरदमुकाम बेनी बजारबाट नै गाउँका डाँडामा परेको हिउँको दृश्यावलोकन गर्न सकिने भए पनि हिउँसँग खेल्न लेकमा नै उक्लनुपर्दछ । जिल्लाका पर्यटकीयस्थल घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानीलगायतका स्थानमा हिउँ खेल्न शनिबार उल्लेख्य मात्रामा आन्तरिक पर्यटक पुगेका थिए ।
सदरमुकाम बेनीबजारबाट ती क्षेत्रमा पुग्न गाडीमा दुईदेखि पाँच घण्टाको समय लाग्छ । यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । बेसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । “हिउँमा खेल्न आएका मानिसले केही न केही खानेकुरा किनेर खाने गर्छन्, यका कारण यहाँको व्यापार बढेको छ”, होटल व्यवसायी मोहन खत्रीले बताए।
हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटलमा छिर्ने गरेको जनाउँदै उहाँले हिमपातका कारण स्थानीय होटल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिए। शनिबार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मात्रै हिउँ खेल्नका लागि ३०० भन्दा बढी युवायुवती पुगेका टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ ।
समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथीलगायतका दर्जनौँ मनोरम हिमशृङ्खला देखिनुका साथै यस समय वनैभरि राताम्यै फुलेको लालीगुराँससंग रमाउन पाइन्छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



