सर्वोच्चद्वारा जग्गा कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न आदेश

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित




काठमाडाैं, २९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले केहि समय अगाडी गरेको जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासबाट जग्गा कित्ताकाट खुलाउने निर्णयलाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेद्वारा दायर गरिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी असोज ८ गते सरकार र रिट निवेदक दुबैलाई छलफलका लागि बोलाएको छ ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले जग्गा प्लटिङ गर्न स्वीकृति र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो । भदौ १८ गते पुनः मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको सो निर्णयलाई बदर गर्दै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।