विद्यार्थी संगठनहरु : काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर !

-



     सफल आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ माघ । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ यो उखान बाल्यकालमा धेरै नै सुनिन्थ्यो । गाउँमा कसैले मुख्य काम छोडेर अरु कामकै पछाडि लाग्दा त्यही उखान दोहोरी रहन्थ्यो ।

विस्तारै बुझ्दै जाँदा नेपाली राजनीतिमा पनि ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान प्रख्यात नै रहेछ । पार्टीका भातृ संगठन मात्रै नभएर केन्द्रीय कमिटीहरु पनि त्यसै उखानमा लिप्त रहेछन् ।

आफू पनि विद्यार्थी भएको हुँदा पार्टी संस्था विद्यार्थी संगठनहरु आफ्नो संगठनीय जिम्मेवारीभन्दा पनि नेता केन्द्रित हुने रहेछन् भन्ने लाग्न थालेको छ। पछिल्लो समयमा विद्यार्थी संगठनको कार्यशैली पनि त्यही उखान जस्तै छ ।

विद्यार्थी संगठनका नेताहरु विद्यार्थीका समस्या, महामारीले शैक्षिक क्षेत्रमा पारेको प्रभाव, शैक्षिक क्षेत्रको गतिविधिबारे चुइक्क बोल्दैनन् । ३/४ वर्षमा सकिने पढाइ पनि अवधि लम्बिएकोमा कुनै चाँसो राख्दैनन् । परीक्षा स्थगित हुदाँ वैकल्पिक माध्यमबाट परीक्षा सुचारू गर्नुपर्ने कुरामा मतलव गरेको पाँइदैन । तर, आम विद्यार्थीको आवश्यकता छोडेर विद्यार्थी संगठनलाई नेताको भन्दा बढी निर्वाचनमा ध्यान गएको छ । चुनाव लड्न हतार छ ।

विद्यार्थी नेताहरू शैक्षिक मुद्दामा भन्दा बढी पार्टीको राजनीतिमा चासो दिइरहेका छन् । सरकारले निर्वाचन समयमा नगराए जनताबाट निर्वाचित सांसदहरूले सरकारलाई जवाफदेही बनाउने हो । ताकी पार्टीको ह्वीप जारी गरेर विद्यार्थी संगठनलाई सडकमा उतार्ने र क्याम्पसका भित्ताभित्तामा बिरोधाभाष व्यानर झुड्याउन लगाउने होइन ।

क्याम्पसका भित्तामा ब्यानर टाँस्दैमा निर्वाचन हुने हुने पनि होइन । निर्वाचनको मिति त सरकारले संविधान र ऐनमा व्यवस्था भएअनुसार त्यसको परिधिभित्र भएर तोक्ने हो । त्यसको जिम्मेवारी सरकार नै हो, विद्यार्थी संगठन होइन । विद्यार्थी संगठनहरु विद्यार्थीको शैक्षिक मुद्दामा समयानुकूल शैक्षिक कार्यक्रमहरु रुपान्तरण एवं शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्छ ।

नारामा सिमित रहेको ‘शैक्षिक गुणस्तर, समावेशी शिक्षा, सर्वसुलभ शिक्षा,’ जस्ता कार्यक्रमहरु यथार्थ रूपमा व्यवहारिक रूपमा कार्यन्वयनतर्फ विद्यार्थी संगठनहरुको ध्यान जान जरुरी छ ।