लिबियाको राजनीतिक संकटबारे महासचिव गुटरेसको आग्रह

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



संयुक्त राष्ट्रसंघ, फागुन १ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन् ।

लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । लिबियामा पछिल्लो समयमा राजनीतिक संकट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन सम्पन्न हुन नसकेकाले यहाँ राजनीतिक संकट चुलिँदै गएको छ । संयुक्त राष्ट्रसंघले यहाँ राजनीतिक संकट थप गहिरिन नदिनका लागि सबै पक्षहरुसँग छलफल चलाएको बताइएको छ ।

गएको डिसेम्बरको पूर्व निर्धारित समयमा राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न नसकेपछि यहाँ राजनीतिक स्थयित्वको प्रश्न उठेको छ । अहिलेको सरकार र संसदको वैधानिकता माथि पनि प्रश्न उठेको बताइएको छ । त्यसैले यहाँको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने भन्दै यहाँका सबै राजनीतिक दलहरुलाई महासचिव गुटर्रेसले आग्रह गरेका छन् ।