बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर फेरि बढाए

-



     सफल आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूले फागुन महिनाका लागि निक्षेपमा ब्याजदर बढाएसँगै तरलता संकट अन्त्य हुने वा नहुनेमा अन्योल कायमै छ । राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी ब्याज बढाएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।

बैंकहरुले ब्याजदर बढाउँदा समग्र अर्थतन्त्रलाई नै नोक्सान पुगेको व्यवसायीहरुको तर्क छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालका अनुसार बैंकहरुको ब्याजदर वृद्धिले अर्थतन्त्रलाई नै नोक्सान पुर्‍याउने र तरलता संकट नहट्ने देखिन्छ । उनका अनुसार बेला बेलामा बैंकहरुले ब्याजदर बढाए पनि तरलता संकट नहटेको उनले बताए ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले सबै प्रकारका ब्याजदर बढाएका छन् । शुक्रबार बसेको नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले हिजो आइतबारदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको थियाे । निर्णयअनुसार वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.०३ र संस्थागत मुद्दतीमा अधिकतम १०.०३ प्रतिशत ब्याज लिन पाउने छन् ।

बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको छ । उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन् । वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर, प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन् । वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरु पनि त्यही बाटोमा अघि बढेका छन् ।

फागुन १ गतेबाट लागू हुने गरी डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११.५५ र संस्थागत मुद्दतीमा १०.५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १२.५५ प्रतिशतसम्म ब्याजदर पुर्याउने निर्णय गरेको हो । फाइनान्स कम्पनीहरुले पनि ११.७१ प्रतिशत ब्याजदर दिने भएका छन् । फाइनान्स कम्पनीले रेमिट्यान्सको मुद्धति निक्षेपमा १२.७१ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा १०.७१ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।

यता राष्ट्र बै‌कलाइ बैंकर्स संघले निक्षेप र कर्जाको मार्जिन दर हटाउन माग गरेकाे छ । राष्ट्र बैंकले तोकेको रेट वाणिज्य बैंकहरुले हटाउन माग गरेका हुन् । मौद्रिक समीक्षामा सुझाव पठाउँदै स्प्रेडदर हटाउन संघले माग गरेको हो । नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंकलाई संघले सुझाव पेश गरेको थियाे ।

आइतबार पेश गरिएकाे सुझावमा भनिएको छ, ‘मौद्रिक नीतिमा उल्लेख ४.४ प्रतिशत हटाउनु उचित हुनेछ ।’ राष्ट्र बैंकलाई तरलता तथा स्रोत व्यवस्थापनसम्बन्धी, शुल्कसम्बन्धी व्यवस्था, ब्याजदरसम्बन्धी व्यवस्था, भुक्तानीसम्बन्धी व्यवस्था, पुँजी व्यवस्थासम्बन्धी व्यवस्था विविध गरी ६ बुँदे सुझाव मौद्रिक नीति समीक्षामा समेट्न आग्रह गरेको छ ।