
चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । ५ भाले र १० पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो ।
यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ । चालू आर्थिक वर्षमा १०० हाराहारी गोही छाडिने तयारी रहेको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार यस अर्थिक वर्ष लागेपछि हालसम्म राप्ती नदीमा ६२, नारायणीमा २० र कोसीमा २० गोही छाडिएको छ । थप केही गोही राप्तीमा छाड्ने तयारी छ ।
पौडेलका अनुसार मंसिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ वटा गोही छाडिएको थियो । २ भाले र १० पोथी नदीमा छाडिएको हो । माघ १९ गते पथरीस्थित कोशी नदीमा ३ भाले र १७ पोथी गरी २० वटा गोही छाडिएको थियो । माघ २३ गते जनकपुरघाटस्थित राप्ती नदीमा ३ भाले र १७ पोथी छाडिएको पौडेलले जानकारी दिए ।
यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा २ भाले र १८ पोथी छाडिएको थियो । हालसम्म विभिन्न नदीमा १ हजार ६७२ गोही छाडिएको उनले बताए ।
यस वर्ष राप्ती र नारायणीका ७ वटा गुँडबाट संकलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँडमा रहेका अण्डा प्रजनन् केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुवै नदीमा गोहीको गुँड अनुगमन गरिँदै छ ।
केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका हुन् । हालसम्म राप्तीमा ८८२, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।
हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा ४३५ वटा गोही रहेका छन् । प्रजनन् केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । राप्ती र नारायणी नदीमा पछिल्लो पटक गरिएको सर्वेक्षणमा पाँच वटा भाले गोही भेटिएको निकुञ्जले जनाएको छ । भालेको अभाव देखिएपछि केही वर्षअघि बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्तीमा छाडिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



