
सिन्धुपाल्चोक, ५ फागुन । मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैंचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् ।
अन्य बालबालिका बिहान बेलुकी गलैंचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए पनि निरन्तर विद्यालय नआउने भएकाले पढाइमा कमजोेर भएको बताएका छन् । महिला आत्मनिर्भरता केन्द्रले बुधबार मेलम्चीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार इँटाभट्टा र जरी उद्योगमा खासै बालश्रममा गएको वा संलग्न भएको पाइएको छैन ।
गलैँचा बुनाइमा संलग्न बालबालिका अधिकांश वडा नं ७ र ८ मा पाइएको, अन्य वडामा न्यून मात्र रहेको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत ध्रुव सापकोटाले जानकारी दिए। घरमा सञ्चालन भएका अधिकांश गलैँचा उद्योग नगरपालिका वा अन्य निकायमा दर्ता भएका छैनन् । वडा कार्यालयसँग पनि यसको अभिलेख नभएको वडा नं ८ का वडाध्यक्ष टंकराज गिरीले जानकारी दिए।
गलैँचा बुनाइमा लागेका बालश्रमिकले ढाड दुख्ने, आँखामा समस्या हुने, चोटपटक लाग्ने जस्ता शारीरिक समस्याका साथै मानसिक समस्यासमेत भएको बताएका छन् । १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि बालश्रममा संलग्न गराउन नपाइने कानुनी व्यवस्था भए पनि खासगरी अभिभावकले नै आफ्ना छोराछोरीलाई उनीहरुको अधिकार हनन गरी श्रममा लगाइरहेका छन् ।
अध्ययनअनुसार ६१ प्रतिशत श्रमिक बालबालिका आर्थिक समस्याका कारण गलैँचा बुनाइमा लागेको बताएका छन् भने ३९ प्रतिशतले अभिभावकको दबाबमा संलग्न भएको बताएका छन् । ४७ प्रतिशत श्रमिक बालबालिकालाई आफ्नो दैनिक पारिश्रमिक पनि थाहा छैन भने ८७ प्रतिशत श्रमिक बालबालिकाका पारिश्रमिक अभिभावकले नै लिने गर्दछन् । उनीहरुले दैनिक न्यूनतम दुई घण्टादेखि अधिकतम १० घण्टासम्म काम गर्ने गर्दछन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



