उद्यमशीलता विकास तथा पर्यटन प्रवर्द्धन गर्न नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता तथा वित्तीय पहुँच प्रवर्द्धन गर्न सम्झौता भएको छ ।

नेटवर्कको प्रधान कार्यालयमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने बताए । उनका अनुसार सम्झौतापश्चात स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग पुग्नेछ ।

नेटवर्कका अध्यक्ष ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग पुग्ने बताए । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको थियाे ।